स्कूलको पहिलो दिन

त्यतिबेला सायद म ४- ५ बर्षको थिए होला ।
बिहान ९ बजे तिर खान खाइवरी स्कुलको लुगा लगाएर सानो झोला बोकेर म र हजुरबुवा स्कुल तर्फ निस्किएउ ।
मैले नया-नया वासना आउने निलो कमिज र पाइन्ट लगाएको थिए भने हजुरबुवाले सधै झैँ शिरमा ढाकाटोपी, आस्कोट र निलो लुंगी अनि खुट्टामा गोल्डस्टार जुत्ता लगाउनुभएको थियो ।

नाति बाजे १५-२० मिनेटमा घरपल्तिरको डाडा, दरम्खोलाको झोलुङ्गे पुल र खेतका फाटहरु हुदै न्यु लाइफ स्कुल पुगेउ ।
मलाई मिसको जिम्मा लगाएर हजुरबुवा घर फर्किनुभयो ।

क्लासमा पुग्दा त्यहाको माहोल अलि बेग्लै थियो । मेरो झैँ अरुको पनि स्कुलमा पहिलो दिन रहेछ ।
रोइरहेकालाइ फकाउन कसैलाई मिठाइ दिईन्थ्यो भने कोहि भाग्यमानी चाइ मिसको काखमा बस्न पाउथे । अर्को रोएको देखेर नरोएको पनि रुन्थे ।

म त्यो दिन क्लासमा रोए कि रोइन चाही अलि याद भएन ।
यस्तै के के गरेर दिन बित्यो ।

त्यो दिन दिउसो छुट्टि हुने बेला तिर पानि परेको रहेछ । छुट्टि भएसी घर जानु अगि हामि सबै गराउंदमा भेला हुन पर्ने रहेछ, अनि आफ्नो मान्छे लिन आएसि घर जाने चलन रहेछ । नया ठाउँ मा भएकोले होला म लाइन नबसी गेटबाट बाहिर निस्किएर घर तर्फ लागे ।

स्कूलमा बस्दा-बस्दा म आत्तिएको थिए, जसरि हुन्छ घर चाडै पुग्नुथियो ।
बिहान हजुरबुवासंग आएको बाटो हुदै अलि परसम्म पुगे । दिउसभर पानि परेकोले होला कुला भरि पानि थियो कुलैकुलको हिलो बाटो हुदै अलि बेर हिडेसि मलाई अगि बढ्न गार्हो लग्यो ।

एउटा ढुंगा थियो खेतको डीलमा, त्यहाबाट मुन्तिरको पाटोमा फड्को मार्न पर्ने थियो ।
कुलो पनि त्यही ढुंगा बाट मुनि खसेकाले मलाई तल झर्न सक्दिन भन्ने लग्यो । एक त कुलोको त्यो धमिलो माटे पानि, अर्को त्यो फड्कोको उचाही ।

म त्यहि ढुंगामा बसेर आत्तिदै रुने थालेछु, मलाई अब बेलुकापानी यही बस्नुपर्छ भन्ने डर थियो ।

कतिबेर त्यहा बसेर रोए मलाई याद भएन तर खुशीको कुरा, मलाई चिन्ने एउटा दाइले मलाई त्यहा भेटाउनुभयो ।
बेला बखत हाम्रो घरमा काम गर्न आउने चरौदी बस्ने त्यो दाइले यो त फलानाको नाति हो भनेर सजिलै चिनेर मलाई अलि परसम्म लग्दै गर्दा बाटोमा हजुरबुवा भेटिनुभयो ।

घर फर्किदै गर्दा हजुरबुवाले मलाई अब यस्तो नगरेस भनेर सम्झाउनुभयो ।

घर पुगे पछि बेलुकाको एउटा रमाइलो कुरा याद छ मलाई ।
साझ माधराबाट जेठोबुवा हजुरबुवासंग गफ गर्न आउनुभएको थियो । आगनमा बसेर हजुरबुवाले जेठोबुवालाइ “.. यो नाति आज त्यहा बसेर रोइरको रहेछ, धन्न चरौदिको फलानोले भेटायो…” भन्दै गर्दा मा भने लाज र डरले भरिपुर्ण भएर घरको पिढिमा रहेको काठको खाट मुनि लुकिरहेको थिए ।

Leave a Comment